काठमाडौँ उपत्यकाको पूर्वी भागमा रहेको साँखु शंखरापुर–साली नदी क्षेत्र हाल स्वस्थानी माताको मन्दिरका कारण एक महिनासम्म धार्मिक गतिविधि, पूजा–अर्चना र मेला–भिडले भरिएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी कथा पाठ, व्रत र स्वस्थानीको पूजा गर्ने पुरानो परम्परा यहाँ विशेष रूपमा मनाइँदै आएको छ।

स्थानीय विश्वास र धार्मिक कथनअनुसार यही ठाउँ प्राचीन “लावन्यदेश” भएको उल्लेख पाइन्छ। नवराज र चन्द्रावतीको प्रसंगसँग जोडिएको स्वस्थानी कथा यही नदी, यही मन्दिर र यो क्षेत्रबाट सुरु भएर देशभर फैलिएको मानिन्छ।

कथाअनुसार नवराज राजा बनेपछि उनले आफ्नी पत्नी चन्द्रावतीलाई डोलेमार्फत दरबार बोलाए। बाटोमा डोलेहरूले स्वस्थानीको प्रसाद खाई चन्द्रावतीलाई पनि दिए तर चन्द्रावतीले प्रसादलाई छिछि र दुरदुर गर्दै अस्वीकार गरिन्। त्यसपछि उनी पीडामा परिन् र धार्मिक कष्ट भोगिन्।

पछि ऋषिमुनिहरूले चन्द्रावतीलाई स्वस्थानी व्रत गरी कल्याण हुने सुझाव दिए। एक महिनासम्म व्रत बसेर पूजा–अर्चना गरेपछि चन्द्रावती पुनः नवराज राजासँग भेटिन सफल भइन् र कथनअनुसार पहिलेभन्दा तेजस्वी र चम्किली भएर फर्किइन्।

यस कथासँग जोडिएको साली नदी, साँखुका स्थानीय क्षेत्र र स्वस्थानी माताको मन्दिर अहिले देशभरका भक्तजनले भरिन्छ। स्वस्थानीको समयमा भक्तहरूले व्रत बस्ने, कथा पाठ गर्ने, भक्ति संगीत गर्ने र अर्घ्य चढाउने चलन छ। यसै अवधिमा माधव नारायणको पूजा पनि यही क्षेत्रमा आयोजना हुँदै आएको छ।

हाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ भने स्थानीय वडाले मेला सञ्चालनका लागि व्यवस्थापन गरेको जनाएको छ। मन्दिर परिसरमा बिहानदेखि साँझसम्म बाक्लो भीड लाग्ने गरेको छ र एक महिनासम्म मेला चल्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *